सनी देओलका छोरा पनि बलिउडमा

सनी देओलका छोरा पनि बलिउडमा

एजेन्सी, भाद्र २७ । बलिउडका नायक सनी देओल सबैले चिनेकै नाम हो । सनी मात्रै होइन, उनका भाई बबी देओल पनि बलिउडमा परिचित नाम हो । अझ बलिउडका नायक तथा सनी र बबीका पिता धमेन्द्र र उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनी पनि बलिउडमा एकदमै चर्चित व्यक्तिहरुमा पर्ने गर्छन् । एक हिसावले हेर्दा पूरै देओल परिवार नै बलिउडसँग जोडिएका छन् भन्दा फरक नपर्ला ।

अब देओल परिवारकै अर्का सदस्य पनि बलिउडमा प्रवेश गर्ने तरखरमा छन् । सनी देओलका ठूला छोरा करण देओल पनि बलिउडमा प्रवेश गर्न लागेको खबर बाहिर आएको हो । सनीका छोरा करण यमला पगला दिवाना–२ मार्फत बलिउडमा प्रवेश गर्दैछन् ।

तर सनीपुत्र करण परिवारका अन्य व्यक्तिभैं पर्दामा देखिनेगरी नभई सहायक निर्देशकका रुपमा बलिउडमा प्रवेश गर्न लागेका हुन् । करण अहिले यमला पगला दिवाना–२ का निर्देशक समीर कार्णिक र फिल्मका कलाकारका साथ हाल बेलायतमा रहेको जनाइएको छ ।

बेलायतमा उक्त फिल्मको सुटिङ चलिरहेको छ र करण त्यसमा खटिईरहेका छन् । करण अहिले निर्देशन कला सिकिरहेको जनाइएको छ ।