
एजेन्सी, भाद्र २७ । मुश्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गर्नेगरी बनाईको हलिउड चलचित्र सार्वजनिक भएपछि भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा लिवियामा अमेरिकी राजदूतको हत्या भएको छ । बेनघाजी शहरमा अमेरिकी कन्सुलेटमा मुश्लिम मिलिसियाले आक्रमण गर्दा उनको हत्या भएको बताइएको छ । घटनामा अन्य तीन जनाको पनि ज्यान गएको छ ।
पैगम्बर मोहम्मदको अपमान गरेको भनिएको ‘इनोसेन्स अप्m मुश्लिम्स्’ नामक उक्त अंग्रेजी चलचित्र इन्टरनेटमा सार्वजनिक भएपछि आक्रोशित मुश्लिम समुदायले विश्वका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन गरेका छन् ।
यसैक्रममा लिवियाको बेनघाजीस्थित अमेरिकी कन्सुलेटमा उनीहरुले धावा बोलेका थिए । अमेरिकी विदेश मन्त्रालयले हिंसात्मक प्रदर्शनमा मारिने चार अमेरिकी मध्ये एक जना लिवियाका लागि अमेरिकी राजदूत पनि रहेको पुष्टि गरेको छ ।
उक्त चलचित्रमा मुश्लिम धर्मग्रन्ध कुरानका प्रति जलाउने अमेरिकको फ्लोरिडास्थित चर्चका पादरीले पनि भूमिका निर्वाह गरेको बताइएको छ । त्यसप्रति पनि प्रदर्शनकारीहरुले चर्को विरोध जनाएका छन् । ईजिप्टमा प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा आगजनी गर्नुका साथै प्रदर्शनकारीले ठाउँठाउँमा अमेरिकी झण्डा जलाएका छन् ।
चलचित्रमा मुश्लिम धर्मलाई क्यान्सरको रुपमा उल्लेख गरिएको भन्दै मुश्लिम समुदायले चलचित्र प्रदर्शनमा रोक लगाउनुपर्ने माग गरेका छन् ।