चमेलिया जलबिद्युत् आयोजना अन्तिम चरणमा

चमेलिया जलबिद्युत् आयोजना अन्तिम चरणमा

दार्चुला, भाद्र २७ । दार्चुलाको शिखर गाउं विकास समितिमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भईसकेको प्राधिकरणका का.मु.कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । पाँच वर्षदेखि निर्माण हुंदै आएको सो आयोजना गत वर्षमा नै सम्पन्न हुनुपर्ने भएपनि बन्द, हड्तालजस्ता प्राविधिक कारणले गर्दा ढिलो हुन गएको प्राधिकरणले जनाएको छ ।

निर्माण कार्यमा कुनै अबरोध नआए आगामी असारसम्म आयोजना पुरा हुने श्रेष्ठले वताउनुभयो । अहिले विद्युत गृह भित्र संरचना जडान र १ सय ३२ केभी प्रसारण लाइनको पनि काम भइरहेको छ । प्रसारण लाइन र टावर जडानको पनि अधिकांशत काम लगभग पूरा हुने अवस्थामा रहेको जनाइएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको विकासमा योगदान पुग्नुका साथै लोडसेडिङमा समेत केही सुधार हुने अपेक्षा गरिएको छ ।