आगामी सेप्टेम्बरमा काठमाडौं प्रथम माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशीप हुने भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा नेपालमा पहिलोपटक हुन लागेको अन्तराष्ट्रिय स्तरको यो प्रतियोगिता घोषणा गरिएको हो ।
झण्डै डेढ करोड रुपैंयाको लागतमा संचालन हुने प्रतियोगिता नेपाल तेक्वान्दो संघ र ईन्टरनेशनल नेपलिज तेक्वान्दो एसोसएिसन ईन्टाले संयुक्त रुपले आयोजना गर्नेछ । ईन्टा अमेरीकामा रहेका नेपाली भुतपुर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको संस्था हो ।
प्रतियोगितामा एशीया, युरोप र अमेरीकी महादेशका १५ देखी १८ राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीहरु सहभागी हुने आशा आयोजकको छ । दुई दिने प्रतियोगितामा विभिन्न १४ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि झण्डै २५ सदस्यीय नेपाली खेलाडीहरुको प्रारम्भीक छनौट सकिएकोले अव यिनै खेलाडीहरु मध्येबाट १४ जनाको अन्तिम टोली बनाईने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
नेपाल पर्यटन वर्ष २०११ र नेपाल पर्यटन बोर्डको समेत संलग्नतामा हुन लागेको यो प्रतियोगिताले खेलकुद र पर्यटन सँगसँगै भने नारा समेटेको छ ।