मनोनयनमा परेका सर्जकहरुलाई इमेज अवार्डको प्रमाणपत्र वितरित

मनोनयनमा परेका सर्जकहरुलाई इमेज अवार्डको प्रमाणपत्र वितरित

यस वर्षको नेपाली सांगितिक जगतको महा उत्सव ईमेज अवार्डको १३ औं संस्करण यही असोज ७ गते शनिबार हुंदैछ । वर्षभरी रेकर्ड भएका नेपाली सर्जकका सयौं गीत, सयौं एल्बम तथा सयौं म्युजिक भिडियोहरु मध्येबाट २०६७ साल असार १ गतेदेखि २०६८ जेठ मसान्तभित्र सार्वजनिक भएका श्रृजना १३ औं इमेज अवार्डको मनोनयनमा परेका छन् । मनोनयनमा परेका सर्जकहरुलाई ईमेज ग्रुप अफ कम्पनीजका तर्फबाट अध्यक्ष एबं प्रबन्ध निर्देशक आर. के मानन्धरले आज एक समारोहबीच प्रमाणपत्र प्रदान गर्नुभयो ।

विगतका वर्षहरुमा झैं यस बर्ष पनि २० बिधाका स्रष्टाहरु सम्मानित हुनुहुनेछ । हरेक वर्ष झैं यस वर्ष पनि २० विधामा मनोनयनमा परेकाहरु निर्णायक मण्डलबाट प्राप्त प्राविधिक मत र एस।एम।एसबाट प्राप्त पपुलर मतका आधारमा विजयी घोषित गरिने छ । नेपाली सांगीतिक जगतमा हलचल मच्चाउन र ख्याती कमाउन सफल स्रष्टाहरुलाई हरेक वर्ष सम्मान गर्ने क्रमसँगै नेपाली संगीतको उत्थानमा अनवरत रुपमा योगदान पुर्‍याउँदै आउनु भएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टालाई पनि लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने परम्परा छ, जुन यस वर्ष पनि यथावत छ । यस वर्ष इमेज ग्रुप अफ कम्पनीजले वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई लाईफ टाइम अचिभमेन्टबाट सम्मान गर्दैछ । सो महा उत्सवको ईमेज च्यानल, इमेज एफ.एम. ९७.९, र इमेज न्युज एफ एम १०३.६ बाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम छ ।