अर्थसचिवको पत्रकार सम्मलेन

अर्थसचिवको पत्रकार सम्मलेन

अकस्मात पदत्याग गर्नुभएका अर्थसचिव रामेश्वर खनालले ६ दिनपछि आफ्नो राजीनामालाई राजनीतिक पूर्वाग्रहले नहेर्न आग्रह गर्नुभएको छ । गत मंगलबार राजीनामा गरेपछि काठमाडौंबाट बाहिरिनु भएका खनालले आज काठमाडौं फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा आपूmले राजनीतिक एवं कर्मचारीतन्त्रमा बढेको विकृति थेग्न नसकेर राजीनामा दिएको बताउनु भयो । खनालले अब आफु अर्थमन्त्रालय मात्रै होइन कुनै पनि सरकारी पदमा नबस्ने पनि प्रष्ट पार्नुभयो । आफ्नो राजीनामाले कर्मचारीतन्त्रको मनोबल बढ्ने उहाँले विश्वास थियो । सरकारले अर्थ मन्त्रालयलाई जानकारी नै नदिई पूरक बजेट ल्याउन लागेको तर आफूले नमानेको भन्दै उहाँले त्यसपछि आफु सरकारका लागि बाधक बनेजस्तो लागेर राजीनामा गरेको बताउनुभयो । मन्त्रालयको बजेट महाशाखालाई नै थाहा नदिई पूरक बजेटको मस्यौदा भईरहेको थाहा पाएको उहाँले बताउनुभयो । नक्कली भ्याट बिलका दोषीहरुलाई कारबाही नगर्न अर्थमन्त्रीले दबाब नदिएको भन्दै उहाँले आफ्नो राजीनामालाई लिएर कसैले आन्दोलन गर्न नपर्नेमा जोड दिनुभयो । मुख्य सचिव माधव घिमिरेलाई राजीनामा बुझाएर हिंड्नु भएका खनाल गृहजिल्ला पाल्पा र मावली जिल्ला पर्वत पुगेर आजै काठमाडौं फर्कनु भएको हो ।