गैरआवासीय नेपाली संघको आग्रह

विदेश जाने नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विभिन्न बहानामा अवरोध खडा गर्ने गरिएको प्रति गैरआवासीय नेपाली संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विदेश यात्राको लागि आवश्यक पर्ने नेपाल सरकारबाट जारी गरिएका सरकारी कागजपत्र प्रती नै अध्यागमन विभागले अनावश्यकरुपमा प्रश्न उठाउने गरेको भन्दै संघले गुनासो गरेको हो ।  संघले हालै विज्ञप्ती जारी गरी परिवारका सदस्यहरुको निमन्त्रणामा विदेशमा जाने महिला यात्रुहरुलाई आशंका गर्ने, यात्रुहरुको पृष्टभूमी हेरेर व्यवहार गर्ने आदि कारणले यात्रूहरुले दुखः पाउने गरेको जानाकारी प्राप्त भएको प्रति संघको ध्यानाकर्षण भएको जनाएको छ ।
 
यसैगरी, खाडी राष्ट्रहरु तथा मलेसियामा वैदेशिक रोजगारीमा जानेहरुले पुन श्रम स्विकृती लिनु पर्ने व्यवस्थाको जानकारी नहुँदा वा पुन श्रम स्विकृती लिन लामो समय कुर्नु पर्ने भएकोले वैदेशिक रोजगारमा जानेहरुले विमानस्थलबाट फकिर्नु पर्ने वा समयमा काममा पुग्न नसकेको स्थिति रहेको संघले जनाएको छ ।
 
संघको नवनिर्वाचित कार्यसमितिले प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा सम्वन्धित पक्षहरुसंग भेटी तत्काललाई विमानस्थलबाट नै पुन श्रम स्विकृती दिने व्यवस्था गर्ने र दिर्घकालिन रुपमा श्रम स्विकृतीको दुई वर्षको अवधीलाई बढाएर पाँच बर्ष बनाउन आग्रह गरेको थियो । यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्न संघले नेपाल सरकारलाई पुनः आग्रह गरेको छ ।