अदालतलको आदेश मुसर्रफलाई पक्राउ गर्न : पाकिस्तान

पाकिस्तान आतंवाद विरोधी एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई पक्राउ गर्ने सम्बन्धमा बेलायती गृह मन्त्रालयसँग सम्पर्क गर्न सरकारलाई निर्देशन दिएको छ । मुसर्रफ सन् २००९ देखि बेलायतमा स्वनिर्वासनमा छन् । सन् २००७ मा भएको पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्याबारे सोधपुछका लागि तत्कालीन शासक मुसर्रफलाई पक्राउ गर्न यसअघि अदालतले आदेश दिएको थियो । आतंकवादनिरोधी अदालतका न्यायाधीश राना निसार हअमद खानले मुसर्रफसम्म पक्राउ पूर्जी पु¥याउन सरकार असक्षम भएकोमा असन्तुष्टि जनाएका छन् । भुट्टोको सुरक्षामा लापरवाही गरेको आरोपमा पक्राउ पूर्व प्रहरीका वकिलले मुसर्रफविरुद्ध रेड कर्नर नोटिस जारी गर्न माग गरेपनि अदालतले अस्वीकार गरेको छ । अदालतले मुसर्रफलाई उपस्थित गराउन सरकार किन असफल भयो भन्नेबारे जानकारी गराउन शनिबार वरिष्ठ सरकारी अधिकारीहरुलाई अदालत बोलाएको थियो । सो क्रममा अनुसन्धान टोलीका प्रमुख वाहिद अन्जुमले अदालतलाई अहिलेसम्म बेलायतमा रहेका मुसर्रफसम्म पुग्न नसकेको बताएका थिए । आदेश कार्यन्वयन गर्ने प्रक्रियामा रहेको बेलायती गृह मन्त्रालयको प्रतिवेदन उनले अदालतसमक्ष बुझाएका थिए । अल पाकिस्तान मुस्लिम लिग नामक पार्टी गठन गरेका मुसर्रफले भने नयाँ निर्वाचनका बेला स्वदेश फर्कने बताएका छन् ।